बारा, २३ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपाल, बाराका प्रमुख एसपी खुमबहादुर केसीको नेतृत्वमा संचालन गरिएको विशेष तस्करी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिब ६ लाख ३० हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार पहिलो घटनामा मिति २०८२ साल कार्तिक २३ गते दिउँसो करिब १:३० बजे महागढिमाई नगरपालिका–७ तेलकुवाँस्थित सु.बेश तेलकुवाँबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजय कुमार यादवको कमाण्डमा खटिएको टोलीले बम नहर मार्ग हुँदै काठमाडौं जाँदै गरेको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा बिल बिजकबिनाका मोटर्स पार्ट्स बरामद गरेको हो। उक्त सामानको अनुमानित मूल्य करिब ३ लाख १० हजार रुपैयाँ रहेको बताइएको छ।
त्यसैगरी, मिति २०८२ साल कार्तिक २२ गते साँझ करिब ४:१५ बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोक नजिकै सशस्त्र प्रहरी सहायक हवल्दार मिनबहादुर भुजेलको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरिएको सामान बरामद गरेको छ। उक्त टोलीले चेकप्वाइन्ट स्थापन गरी चेकजाँच गर्दा साईकल र मोटरसाईकलको प्रयोग गरी ल्याइँदै गरेको करिब २ लाख १० हजार रुपैयाँ मूल्य बराबरका २५० थान टेम्पर ग्लास, विभिन्न किसिमका कपडा, रेडिमेड लुगा तथा किराना सामान बरामद गरेको बताइएको छ।
तेस्रो घटनामा, मिति २०८२ साल कार्तिक २३ गते बेलुकी करिब ८ बजे पचरौता नगरपालिका–१ स्थित पिपरपाती सीमा इलाकाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमानन्द मुखियाको नेतृत्वमा खटिएको टोलीले भारततर्फबाट ल्याइँदै गरेको करिब १ लाख १० हजार रुपैयाँ मूल्य बराबरको एसियन प्राइमर बरामद गरेको छ।
बरामद गरिएको सबै अवैध सामानहरू आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बाराका प्रवक्ता डिएसपी बिपिन देसारले जानकारी दिएका छन्।
एसपी केसीका अनुसार सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न नियमित निगरानी तथा कडा चेकजाँच अभियानलाई अझ प्रभावकारी बनाएको छ। उनका अनुसार सशस्त्र प्रहरी बल बाराले पछिल्ला दिनहरूमा भन्सार छल, लागू औषध र अन्य गैरकानूनी कारोबारमा संलग्न गतिविधिहरूलाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ।
सशस्त्र प्रहरी बाराको सक्रियता बढेसँगै जिल्लाका सीमाक्षेत्रहरूमा अबैध सामान ओसार–पसारका घटना नियन्त्रणमा आउँदै गएका सशस्त्र प्रहरीको भनाइ छ।
