हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : कार्यवाहक नगर प्रमुख आलम

समाचार

वीरगन्ज ,३० साउन । वीरगन्ज महानगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरलाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने उद्देश्यले सञ्चालन गर्दै आएको वृक्षारोपण अभियानलाई तीव्रता दिएको छ। अभियानअन्तर्गत महानगरपालिकाको आयोजनामा वीरगन्ज बसपार्क परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले बढ्दो सहरीकरण र प्रदूषण न्यूनीकरणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताउनुभयो। उहाँले वीरगन्जलाई हरित, सुन्दर र बस्नयोग्य सहरका रूपमा विकास गर्न महानगरपालिकाले वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“हाम्रो मुख्य लक्ष्य वीरगन्जलाई प्रदूषणमुक्त र बस्नयोग्य सहर बनाउनु हो। हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ। यस अभियानमा सम्पूर्ण नगरवासीको साथ र सहयोग आवश्यक छ,” कार्यवाहक नगर प्रमुख आलमले भन्नुभयो।

अत्यधिक भीडभाड तथा सवारीसाधनको चाप रहने बसपार्क क्षेत्रलाई व्यवस्थित र हरियालीयुक्त बनाउने उद्देश्यले विभिन्न प्रजातिका छायादार तथा सौन्दर्यवर्धक बिरुवा रोपिएको महानगरपालिकाले जनाएको छ।
वृक्षारोपण कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँगै स्थानीय युवा क्लब, टोल सुधार समितिका पदाधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

महानगरपालिकाले बिरुवा रोपेर मात्र अभियान पूरा नहुने भन्दै रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह तथा हुर्काउने जिम्मेवारीसमेत स्थानीय समुदायसँगको सहकार्यमा अघि बढाउने नीति लिएको जनाएको छ।

महानगरपालिकाका अनुसार आगामी दिनमा महानगरका विभिन्न वडा, खाली सार्वजनिक जग्गा तथा सडकका किनारमा समेत वृक्षारोपण कार्यक्रम विस्तार गरिनेछ। अभियानलाई निरन्तरता दिँदै वीरगन्जलाई हरियालीयुक्त, स्वच्छ, सुन्दर तथा वातावरणमैत्री सहर बनाउने लक्ष्य महानगरपालिकाले अघि सारेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *