वीरगञ्ज, २९ साउन । पर्साको वीरगञ्जमा बिना इजाजत अवैध रूपमा औषधि उत्पादन, लेबलिङ तथा प्याकेजिङ गरी बिक्री–वितरण भइरहेको अवस्थामा एक उद्योगमा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको छ।
मिति २०८३ साउन २९ गते दिउँसो करिब ३:३० बजे वीरगञ्ज महानगरपालिका–११, श्रीपुरस्थित आर.पी. फर्मासिटिकल प्रा.लि. उद्योगमा अवैध रूपमा औषधि उत्पादन भइरहेको विशेष सूचनाका आधारमा पर्सा प्रहरी र औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्जको संयुक्त टोलीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उद्योगमा बिना अनुमति औषधि उत्पादन तथा लेबलिङ र प्याकेजिङ भइरहेको पाइएपछि उद्योग सञ्चालक वीरगञ्ज महानगरपालिका–२२ निवासी ३४ वर्षीय राहुल कुमार चौहानलाई बरामद सामग्रीसहित नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार उद्योगबाट Rectified Spirit १०० एमएलका ४० बोतल, ४०० एमएलका ३ हजार ९० बोतल, Safer Plan Hand Rub Sanitizer का १ हजार ५०० बोतल, Clove Oil IP ५ एमएलका १५ हजार भायल, GV Paint १० एमएलका २५ भायल, Rectified Spirit ५ लिटरका २८ जार बरामद गरिएको छ।
त्यस्तै, Vial Sealing Machine एक थान, Printing Machine एक थान, Hand Rub Sanitizer १९२ थान तथा विभिन्न Packaging र Labels समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चौहानलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्ज, पर्सामा पठाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले उद्योगबाट बरामद भएका सामग्रीको प्रयोग, उत्पादनको वैधता तथा बिक्री–वितरणसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
