मानव तस्करीविरुद्ध उत्कृष्ट कार्यका लागि इन्स्पेक्टर मनोजकुमार शर्मा ‘डीजी डिस्क’बाट सम्मानित

समाचार

(उत्कृष्ट सेवा, प्रभावकारी नेतृत्व र मानवीय संवेदनशीलताका लागि महानिर्देशक पदक तथा प्रशंसापत्र प्रदान)
भारत ,२ भदौ ।मानव तस्करीजस्तो गम्भीर तथा संवेदनशील अपराधविरुद्ध प्रभावकारी कारबाही गर्दै थुप्रै नाबालिगसहित अन्य पीडितलाई तस्करको चंगुलबाट उद्धार गरी सुरक्षित भविष्यतर्फ फर्काउन उल्लेखनीय योगदान पुर्‍याएका इन्स्पेक्टर मनोजकुमार शर्मा महानिर्देशकको प्रशंसा पदक (DG Disc) तथा प्रशंसापत्रबाट सम्मानित भएका छन्।

भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा शर्मालाई उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी निर्देशन, कार्यकुशलता तथा मानवीय संवेदनशीलताको उच्च मूल्यांकन गर्दै महानिर्देशक स्तरको सम्मान प्रदान गरिएको हो।

समारोहमा श्री राकेशकुमार, उपमहानिरीक्षकले इन्स्पेक्टर शर्मालाई महानिर्देशक पदक तथा प्रशंसापत्र प्रदान गरेका थिए। सम्मानपछि अधिकारी तथा सहकर्मीहरूले शर्मालाई बधाई दिँदै मानव तस्करी नियन्त्रण तथा पीडित उद्धारमा उनले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

मानव तस्करीविरुद्धको अभियानमा इन्स्पेक्टर शर्माले मानव तस्करीविरोधी इकाइ (AHTU) मार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्व तथा निर्देशनमा तस्करीमा संलग्न नेटवर्कविरुद्ध निरन्तर कारबाही गर्दै थुप्रै नाबालिग तथा अन्य पीडितको उद्धार गरिएको जनाइएको छ। विशेषगरी नेपालबाट तस्करीमा परेका नाबालिग तथा वयस्कलाई ठूलो संख्यामा उद्धार गर्ने अधिकारीका रूपमा समेत शर्मा उल्लेखनीय रहेको बताइएको छ।

मानव तस्करी केवल आपराधिक गतिविधि मात्र नभई पीडितको जीवन, स्वतन्त्रता, सम्मान र भविष्यमा गम्भीर असर पार्ने अपराध हो। यस्तो अवस्थामा सुरक्षाकर्मीको भूमिका अपराधी पक्राउ गर्नेमात्र नभई पीडितलाई सुरक्षा, विश्वास र सम्मानसहितको वातावरण उपलब्ध गराउनु पनि महत्वपूर्ण हुन्छ। यही मानवीय दृष्टिकोणलाई आत्मसात् गर्दै शर्माले गरेको कार्यले मानव सुरक्षा तथा जनसेवाप्रतिको प्रहरी प्रतिबद्धतालाई थप बलियो बनाएको बताइएको छ।

उनको नेतृत्वमा भएका कारबाहीबाट मानव तस्करीविरुद्धको अभियान प्रभावकारी हुनुका साथै सर्वसाधारणमा सुरक्षा निकायप्रतिको विश्वास र सकारात्मक धारणा बढाउनसमेत योगदान पुगेको छ। विशेषगरी बालबालिका तथा जोखिममा रहेका वर्गलाई तस्करीको जोखिमबाट जोगाउने दिशामा शर्माको प्रयास उल्लेखनीय रहेको बताइएको छ।

सम्मानले थपियो जिम्मेवारी

DG Disc बाट सम्मानित भएपछि इन्स्पेक्टर शर्माले उक्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो सम्पूर्ण टोलीको सामूहिक प्रयास र पीडितका लागि गरिएको सेवाको सम्मानका रूपमा लिएका छन्।

उनका अनुसार वर्दीको वास्तविक सम्मान त्यतिबेला हुन्छ, जतिबेला त्यसबाट कुनै असहाय तथा पीडित व्यक्तिको जीवन सुरक्षित हुन्छ र उसले न्याय तथा सम्मानका साथ नयाँ जीवन सुरु गर्ने अवसर पाउँछ।

मानव तस्करीविरुद्धको अभियानमा शर्माले पुर्‍याएको योगदानलाई मध्यनजर गर्दै प्राप्त यो सम्मान उनको उत्कृष्ट सेवाको पहिचान मात्र नभई मानव सुरक्षा, बाल संरक्षण तथा जनसेवाप्रतिको समर्पित कार्यशैलीको सम्मानका रूपमा समेत हेरिएको छ।

एउटा पदक उपलब्धिको प्रतीक हुन सक्छ, तर तस्करको चंगुलबाट एउटा बालबालिकालाई उद्धार गरी उसको भविष्य सुरक्षित गर्नु नै सेवाको सबैभन्दा ठूलो सफलता हो।

इन्स्पेक्टर मनोजकुमार शर्माले DG Disc प्राप्त गरेपछि नेपाल, बिहार तथा भारतका विभिन्न राज्यमा रहेका सहकर्मी, शुभेच्छुक तथा नागरिकहरूले उनलाई बधाई तथा शुभकामना दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *