बैंकबाट बोलेको भन्दै KYC Update को नाममा ठगी गर्ने गिरोह पक्राउ,सो मध्ये एक जना बिरगंजका हुन् ।

समाचार

काठमाडौं ,३ भदौ । बैंकबाट फोन गरेको भन्दै ‘KYC Update’ गर्नुपर्ने बहाना बनाई सर्वसाधारण तथा बहालवाला र सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन्।

साइबर ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जय कुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगन्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार पक्राउ परेकाहरूले बैंकबाट बोलेको भन्दै ‘KYC Update’ गर्नुपर्ने बहाना बनाई लक्षित व्यक्तिलाई फोन तथा WhatsApp कल गर्ने गरेका थिए। त्यस क्रममा पीडितलाई मोबाइलको Screen Share गर्न लगाउने वा OTP Code मागेर प्राप्त गर्ने र त्यसको माध्यमबाट बैंक खातामा अनधिकृत पहुँच बनाई खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त गिरोहका सम्बन्धमा साइबर ब्यूरोले गरेको प्राविधिक विश्लेषणका आधारमा पहिचान भएका उनीहरूलाई ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट २०८३ साल साउन ३१ गते पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।

साइबर ब्यूरोले बैंक तथा वित्तीय संस्थाको नाममा आउने अपरिचित फोन, WhatsApp कल वा सन्देशमा व्यक्तिगत विवरण, OTP Code तथा मोबाइलको Screen Share नगर्न आग्रह गर्दै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *