तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ

समाचार

बारा ,३ भदौ ।बारा प्रहरीले तीन वर्षीया नाबालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगी जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवँरको नेतृत्व तथा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीको सूक्ष्म अनुसन्धान र स्थानीयवासीको सहयोगमा घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने करिब १६ वर्षीय किशोर र ना.१ ज ७७५८ नम्बरको म्याजिकका चालक जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।

प्रहरीका अनुसार २०८३ भदौ २ गते साँझ करिब ५ः४५ बजे जितपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र करिब ३/४ वर्ष उमेरकी बालिका मृत अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा सोको (SOCO) सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुवँरको कमाण्डमा सोकोसहित थप प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धानलाई तीव्र बनाएको थियो।

घटनाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो। घटनास्थल तथा आसपासका क्षेत्रमा गरिएको अनुसन्धान, स्थानीयवासीबाट प्राप्त सूचनालगायतका आधारमा प्रहरीले मृतक बालिकाको पहिचान गर्न सफल भएको जनाएको छ।

प्रहरीका अनुसार मृतक जितपुर सिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया नाबालिका हुन्। उनी २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्।

घरबाट हराएको दुई दिनपछि बालिका मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बालिकालाई म्याजिकमा सहचालकको रूपमा काम गर्ने करिब १६ वर्षीय किशोरले चकलेट दिने प्रलोभन देखाई फकाएर घटनास्थलमा लगेको र त्यहाँ जबरजस्ती करणी गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका चालक प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनामाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिएका छन्।
प्रहरीले घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको, घटनाको वास्तविक कारण, घटनास्थलसम्म बालिकालाई कसरी पुर्‍याइयो तथा घटनापछि अभियुक्तहरूले गरेका गतिविधिलगायतका विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नाबालिकाको हत्या जस्तो संवेदनशील घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अभियुक्त पहिचान तथा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न सबैमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप विवरण सार्वजनिक गरिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *