वीरगञ्ज,५ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले पर्साका सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार गरिएका ८ लाख ५ हजार ९ सय रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ।
मिति २०८३ भदौ ५ गते सीमा क्षेत्रमा गरिएको चेकजाँच तथा गस्तीका क्रममा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला, मदिरा, कपडा, किराना सामान तथा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बि.ओ.पि. प्रसौनीभाठा र सुरक्षा बेस पोखरियाबाट खटिएको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–४ कुकैयास्थित सीमा क्षेत्रबाट ३ लाख रुपैयाँ बराबरका ३० कार्टुनमा रहेका ३ हजार गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्लासहित एक जनालाई नियन्त्रणमा लिएको छ। पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा नेपाल प्रहरीको रोहबरमा बरामद चल्ला नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, बि.ओ.पि. ब्रह्मनगरबाट खटिएको टोलीले सीमा क्षेत्रबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १ लाख ५४ हजार ९ सय रुपैयाँ बराबरको मदिरा र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सामान तथा व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको मोबाइल तथा मोटरसाइकल गस्ती टोलीले बौधिमाई नगरपालिका–९ विश्रामपुरलगायतका सीमा क्षेत्रबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको ३ लाख ५१ हजार रुपैयाँ बराबरको कपडा, मोटरसाइकल तथा विभिन्न किराना सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार नियन्त्रणमा लिइएका सबै सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
