राजविराज,५ भदौ । सप्तरीको राजविराज नगरपालिका–६ स्थित बागेश्वरी मन्दिर नजिक भित्री सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
राजविराजबाट सखडातर्फ जाँदै गरेको को १ ख ४६०७ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स ११ प ५५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका–२, रामपुर निवासी अन्दाजी ५० वर्षीय भागवत प्रसाद शाह गम्भीर घाइते भएका थिए। उनको टाउको, अनुहार र काँधमा चोट लागेको थियो।
घाइते शाहलाई छिन्नमस्ता अस्पताल, राजविराजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो। न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ४४ वर्षीय पर्शुराम भोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
