भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

समाचार

वीरगन्ज ,१३ भदौ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना तथा पुनरुत्थानका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका (बोर्ड) बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

महानगरपालिकाका अनुसार सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट जुटाइनेछ। जसअनुसार महानगरअन्तर्गतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ।

त्यसैगरी, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले एक महिनाको तलब तथा सेवा–सुविधाबापत प्राप्त हुने रकम सहयोग गर्ने निर्णय गरिएको छ। महानगरपालिकामा कार्यरत कर्मचारीहरूको तलबबाट समेत मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोगमा समावेश गरिनेछ।

भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकलाई विपद्को कठिन घडीमा राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठक बोलाएर सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले बताउनुभयो।

महानगरपालिकाले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहको तर्फबाट सम्भव भएसम्म सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *