वीरगञ्ज, १६ फागुन । अनेरास्ववियु पर्साद्वारा आयोजित चुनावी विद्यार्थी भेला उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। भेलामा जिल्लाभरका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रम अनेरास्ववियु पर्साका अध्यक्ष क. सुजित मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव तथा प्रवक्ता क. समीम बाबु खानको उपस्थिति रहेको थियो।
भेलामा प्रमुख वक्ताका रूपमा पर्सा क्षेत्र नम्बर १ बाट एमाले तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व खानेपानी मन्त्री प्रदिप यादवले विद्यार्थीहरूको भूमिका लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले युवाहरूलाई सचेत, जिम्मेवार र सक्रिय भएर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मेयर विजय सरावगी उपस्थित हुनुहुन्थ्यो। उहाँले विद्यार्थीहरू राष्ट्रको भविष्य भएको उल्लेख गर्दै सही नेतृत्व चयनमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी, अनेरास्ववियु केन्द्रीय सदस्य क. आशिफ आलम तथा नेकपा एमाले पर्साका सचिवालय सदस्य तथा प्रवक्ता क. सुन्दर कुर्मीले पनि सम्बोधन गर्दै विद्यार्थीहरूलाई संगठित र सचेत भई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभयो।
कार्यक्रमको सञ्चालन क. रेयाज अंसारीले गर्नुभएको थियो। सहभागी विद्यार्थीहरूले आगामी निर्वाचनप्रति चासो र उत्साह व्यक्त गर्दै संगठनप्रति आफ्नो समर्थन र प्रतिबद्धता जनाएका थिए।
आयोजकका अनुसार विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल र प्रभावकारी बनेको जनाएको छ।
