वीरगंज, १७ फागुन । जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फको समर्थनमा वीरगंजस्थित पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा सयौं युवाहरूको सहभागितामा भव्य मोटरसाइकल र्याली निकालिएको छ।
जनमत पार्टी निकट युवा दस्ता तथा जेन्जि जनमत संघको आयोजनामा शनिबार सम्पन्न र्यालीले चुनावी माहोललाई थप उत्साहपूर्ण र ऊर्जावान बनाएको छ। र्याली वीरगंजका विभिन्न स्थान हुँदै क्षेत्रका १९ वटै वडाका प्रमुख चोक, सडक तथा बस्तीहरू परिक्रमा गरेको थियो।
र्यालीमा सहभागी युवाहरूले जनमत पार्टीका झण्डा, ब्यानर तथा विभिन्न नारासहित उत्साहजनक उपस्थिति जनाउँदै उम्मेदवार सरार्फप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए। सहभागीहरूले “परिवर्तनका लागि जनमत”, “युवाको रोजाइ, ओमप्रकाश सरार्फ” जस्ता नाराहरू लगाउँदै चुनावी वातावरणलाई थप तातो बनाएका थिए।
आयोजकका प्रतिनिधिहरूले युवाहरूको उल्लेखनीय सहभागिताले पर्सा–१ मा जनमत पार्टीप्रति बढ्दो आकर्षण र विश्वास स्पष्ट रूपमा देखिएको बताएका छन्। उनीहरूले देश र क्षेत्रको समृद्धिका लागि सक्षम, इमानदार र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सरार्फ नै त्यसका लागि उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन्।
र्यालीमा सहभागी युवाहरूले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विस्तारका लागि नयाँ सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका छन्। उनीहरूले परम्परागत राजनीतिक शैलीभन्दा फरक दृष्टिकोणसहित जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्वको रूपमा सरार्फलाई अघि सारेका छन्।
उम्मेदवार सरार्फले युवाहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै युवाहरू नै परिवर्तनका संवाहक भएको बताए। उनले युवाको ऊर्जा र क्षमतालाई विकासमा उपयोग गर्ने स्पष्ट योजना रहेको उल्लेख गर्दै पर्सा–१ लाई आर्थिक, शैक्षिक तथा पूर्वाधार विकासका दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाए।
जनमत पार्टीले पर्सा–१ मा घरदैलो, जनसम्पर्क, मोटरसाइकल र्याली तथा युवासँग प्रत्यक्ष अन्तरक्रिया जस्ता कार्यक्रममार्फत आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेको जनाएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा युवाहरूको सक्रिय सहभागिताले जनमत पार्टीको अभियान थप सशक्त बन्दै गएको र यसले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको स्थानीय राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
