Gen-Z आन्दोलनका बेला कारागारबाट फरार थुनुवा पर्साबाट पक्राउ

समाचार

वीरगञ्ज, १७ फागुन। Gen-Z आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक थुनुवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। लागूऔषध मुद्दामा सजाय काटिरहेका पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुबनी टोल निवासी ३२ वर्षीय सुनिल सहनी फरार अवस्थाबाट नियन्त्रणमा लिइएका हुन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्व तथा प्रहरी सहायक निरीक्षक भन्दु राय यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई मिति २०८२ फागुन १६ गते राति करिब ११:०० बजे पक्राउ गरेको हो। प्रहरीका अनुसार सहनी आफ्नै घर नजिकै लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका थिए।

सहनी यसअघि लागूऔषध मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका थिए। उनी मिति २०८२ भदौ २४ गते Gen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धाराबाट भागी फरार भएका थिए।

पक्राउ परेका सहनीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय पर्सा, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ व्यक्ति:
सुनिल सहनी, उमेर ३२ वर्ष
स्थायी ठेगाना: पकाहामैनपुर गाउँपालिका–२, मधुबनी टोल, पर्सा

प्रहरीले फरार अपराधीको खोजी कार्यलाई निरन्तरता दिँदै कानुन कार्यान्वयनमा कडाइ गरिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *