पर्सामा निर्वाचन सुरक्षाका लागि कडा आदेश: सीमानाका बन्द, होली सार्वजनिक स्थानमा मनाउन रोक, डि.जे. र प्रचार प्रसार निषेध

समाचार

वीरगञ्ज, फागुन  १६ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले अत्यन्त जरुरी आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय, निर्वाचन आयोग तथा गृह मन्त्रालयको निर्देशन र सर्वदलीय/सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल ले जानकारी दिनुभयो।

सीमानाका तीन दिन पूर्ण रूपमा बन्द

जिल्ला प्रशासन कार्यालयका अनुसार भारतसँग जोडिएका पर्सा जिल्लाका सबै सीमानाका फागुन १८ गते (२ मार्च २०२६) राति १२:०० बजेदेखि फागुन २१ गते (५ मार्च २०२६) राति १२:०० बजेसम्म पूर्ण रूपमा बन्द रहनेछन्। निर्वाचन अवधिमा अवाञ्छित गतिविधि नियन्त्रण र सुरक्षा सुदृढ गर्न यस्तो निर्णय गरिएको हो।

सार्वजनिक स्थानमा होली तथा रमजान मनाउन रोक

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले होली तथा रमजान पर्व सार्वजनिक स्थानमा भेला भएर मनाउन निषेध गरेको छ।
* चौर, चौक, सडक वा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला, महोत्सव वा सांगीतिक कार्यक्रम आयोजना गर्न पाइने छैन।
* कसैको इच्छा विपरीत रंग दल्ने, पानी हान्ने, हो–हल्ला गर्ने वा झै–झगडा गर्ने कार्यमा कडाइ गरिनेछ।
* धार्मिक तथा सांस्कृतिक रूपमा घर परिसरभित्र आफन्त तथा परिवारजनसँग पर्व मनाउन भने रोक नहुने प्रशासनले जनाएको छ।
* कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा, चुनाव चिन्ह अंकित कपडा लगाएर पर्व मनाउन पनि निषेध गरिएको छ।
* विशेष गरी फागुन २० गते मोटरसाइकल प्रयोग गरेर होली मनाउन पूर्ण प्रतिबन्ध लगाइएको छ, जसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मतदानको दिन सवारी सञ्चालनमा विशेष व्यवस्था

मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन—एम्बुलेन्स, रेडक्रस, औषधि तथा दूध बोक्ने सवारी, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल तथा सुरक्षा निकायका सवारीलाई पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ।
अन्य सवारी साधनका लागि भने निर्वाचन अधिकृतको कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा फागुन १९ गते जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरिनेछ।
कूटनीतिक नियोग बाहेक विदेशी नम्बर प्लेटका यात्रुवाहक सवारी साधनहरू निर्वाचन मौन अवधिभर सञ्चालन गर्न निषेध गरिएको छ।

डि.जे., ध्वनि प्रदूषण र चुनावी प्रचारमा पूर्ण रोक

जिल्ला प्रशासन कार्यालयले फागुन १६ गतेदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म पर्सा जिल्लाभर राजनीतिक दलको प्रचारप्रसार तथा धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रममा डि.जे. लगायत ध्वनि प्रदूषण हुने बाजा बजाउन निषेध गरेको छ।

प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। आदेश उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन अनुसार कडा कारवाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *