बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने : तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगको दाबी

समाचार

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक कार्यक्रम ‘रासस पडकास्ट’मा बोल्दै विषम परिस्थितिमा घोषणा भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन हरेक नेपाली नागरिकका लागि आफ्नो प्रतिनिधि चयन गर्ने महत्वपूर्ण लोकतान्त्रिक अवसर हो।
सचिव राउतले मतदातालाई उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भई समयमै मतदान गर्न आग्रह गर्दै भन्नुभयो, “मुलुकमा शान्ति, समृद्धि र सुशासन सुनिश्चित गर्न मतदाताको सक्रिय सहभागिता अपरिहार्य छ।”

देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र

निर्वाचन आयोगका अनुसार देशभर १० हजार ९६७ मतदान स्थलका २३ हजार ११२ मतदान केन्द्रमा मतदान हुनेछ। निर्वाचन व्यवस्थापनका लागि करिब दुई लाख १५ हजार कर्मचारी तथा निर्वाचन प्रहरीसहित कुल तीन लाख ३९ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री सबै निर्वाचन क्षेत्रमा पुर्‍याइसकिएको छ भने दुर्गम हिमाली क्षेत्रका केही मतदान केन्द्रमा हेलिकप्टरमार्फत सामग्री ढुवानी भइरहेको छ। अधिकांश जिल्लामा मतदान अधिकृत तथा कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान गरिसकिएको आयोगले जनाएको छ।

मतदाता शिक्षा र सुरक्षा व्यवस्थामा विशेष ध्यान

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले व्यापक तयारी गरेको जनाएको छ। देशका सबै ६ हजार ७४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ भने स्थानीय भाषा तथा डिजिटल माध्यममार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।

त्यसैगरी, प्रत्येक प्रदेशमा ‘कमाण्ड पोस्ट’ स्थापना गरी प्रदेश सरकार, सुरक्षा निकाय र प्रशासनबीच समन्वय गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको सचिव राउतले बताउनुभयो। मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगले ‘इलेक्सन इन्फर्मेसन डिसिमिनेसन एण्ड कोअर्डिनेसन सेन्टर’ स्थापना गरी मिडिया तथा डिजिटल माध्यममार्फत सूचना प्रवाह गरिरहेको जनाएको छ।

आचारसंहिता उल्लङ्घनसम्बन्धी १,०६१ उजुरी फर्छ्यौट

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र र जिल्लास्तरमा अनुगमन संयन्त्र गठन गरिएको छ। हालसम्म देशभर दर्ता भएका एक हजार ६१ वटा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी फर्छ्यौट गरिएको आयोगले जनाएको छ।

निर्वाचन खर्च पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारलाई छुट्टै बैंक खाता सञ्चालन गर्न तथा प्रचारप्रसार खर्च बैंकमार्फत मात्र गर्न निर्देशन दिइएको सचिव राउतले जानकारी दिनुभयो। मौन अवधिमा हुने सम्भावित आचारसंहिता उल्लङ्घन नियन्त्रणका लागि डिजिटल निगरानी संयन्त्रसमेत सक्रिय बनाइएको छ।
छिटो र व्यवस्थित मतगणनाको तयारी

मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा ल्याइ सर्वदलीय सहमतिमा मतगणना सुरु गरिने आयोगले जनाएको छ। मतगणना छिटो, चुस्त र व्यवस्थित बनाउन आवश्यक जनशक्ति, तालिम र स्रोतसाधनको व्यवस्था गरिएको छ।

प्रत्यक्षतर्फ अधिकतम ४५ वटा र न्यूनतम तीन वटा चुनाव चिह्न रहेका छन् भने समानुपातिकतर्फ ५७ वटा चुनाव चिह्न छन्। चुनाव चिह्नको संख्या र मतपत्रको आकारका कारण मतगणनाको गति फरक पर्न सक्ने आयोगको अनुमान छ।

स्वच्छ र विश्वसनीय निर्वाचनमा आयोग विश्वस्त

निर्वाचन आयोगले संघीय, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, सञ्चार क्षेत्र, राजनीतिक दल र मतदाताको सहयोगले निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।
सचिव राउतले भन्नुभयो, “जनशक्ति व्यवस्थापन, सुरक्षा, मतदाता शिक्षा, वित्तीय पारदर्शिता र मतगणना व्यवस्थापनमा आयोगले प्रभावकारी तयारी गरेको छ। आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन पूर्ण रूपमा प्रतिबद्ध छ।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *