डीएसपी विकास अधिकारीलाई वीरगञ्जमा विदाइ, नयाँ जिम्मेवारीमा श्याम सङ्गती महर्जन

समाचार

रसीद आलम ,वीरगञ्ज, १७ भदौ ।सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको सरुवा भई उनको ठाउँमा डिएसपी श्याम सङ्गती महर्जनले गुल्मको कमान्ड सम्भालेका छन् ।सरुवा भई जानलागेका डिएसपी अधिकारीलाई बिदाई कार्यक्रममा सम्मान  गरिएको छ।

वीरगञ्ज महानगरपालिका–२ का वडा अध्यक्ष म. रेयाज मिया तथा नेपाली कांग्रेस वडा नं. २ का सभापति फिरोज आलमले सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सारका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीलाई विदाइ तथा नयाँ जिम्मेवारी सम्हाल्न आएका डीएसपी श्याम सङ्गती महर्जनलाई स्वागत गरेका छन्।

करिब सात महिनाको कार्यकाल पूरा गरी डीएसपी अधिकारीको सरुवा भएपछि वडा अध्यक्ष मिया र कांग्रेस वडा सभापति आलमले उहाँलाई विदाइ गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका हुन्। सोही क्रममा वीरगञ्ज गुल्ममा नयाँ जिम्मेवारी सम्हाल्न आएका डीएसपी महर्जनलाई स्वागत गरिएको हो।

सात महिनामा करिब ८ करोडको सामान बरामद

वीरगञ्ज गुल्ममा कार्यरत रहँदा डीएसपी विकास अधिकारीले सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको सशस्त्र प्रहरीले जनाएको छ। उनको नेतृत्वमा कार्यक्षेत्रका विभिन्न स्थानमा छापामारी, विशेष निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको थियो।
अधिकारीको कार्यकालमा सीमा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ८ करोड रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिइएको जनाइएको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

मुख्य सीमा नाकामा चेकजाँच कडाइ गर्नुका साथै नियमित गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी र सूचनाका आधारमा छापामारीलाई प्राथमिकता दिइएको थियो।

Best Integrity Award’ बाट सम्मानित

सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा जिम्मेवारीप्रतिको इमानदारी र उत्कृष्ट कार्यसम्पादनका लागि डीएसपी विकास अधिकारी यसै अवधिमा ‘Best Integrity Award Program–२०८३’ बाट समेत सम्मानित भएका थिए।

वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज, पर्साले आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल वीरगञ्ज गुल्मका डीएसपी विकास अधिकारी तथा बीओपी प्रसौनी भाट्टाका सशस्त्र प्रहरी निरीक्षक उत्तर वाईवालाई ‘Best Integrity Award’ प्रदान गरिएको थियो।

स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको सम्मानमा स्थापित उक्त पुरस्कार जिम्मेवारीप्रति इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक भूमिका निर्वाह गर्दै सुरक्षा तथा सीमा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने अधिकारीलाई प्रदान गरिँदै आएको आयोजकले जनाएको थियो।

अब वीरगञ्ज गुल्मको जिम्मेवारी डीएसपी महर्जनलाई
डीएसपी विकास अधिकारी आफ्नो दरबन्दी रहेको काभ्रे जिल्ला जाने भएका छन्। उनको स्थानमा डीएसपी श्याम सङ्गती महर्जन वीरगञ्ज गुल्ममा आएका हुन्।

नयाँ जिम्मेवारी सम्हालेका डीएसपी महर्जनका लागि वीरगञ्जको सीमा सुरक्षा तथा तस्करी नियन्त्रण प्रमुख चुनौतीका रूपमा रहने देखिएको छ। नेपाल–भारत व्यापारिक आवागमनको प्रमुख केन्द्र वीरगञ्जमा खुला सीमाका कारण दैनिक ठूलो संख्यामा मानिस तथा मालसामानको आवागमन हुने गर्दछ।

वैध व्यापार तथा आवागमनलाई सहज बनाउँदै भन्सार छली, अवैध ओसारपसार, लागूऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्नु वीरगञ्ज गुल्मको महत्वपूर्ण जिम्मेवारी हो।

त्यसैले आगामी दिनमा सीमा क्षेत्रमा प्रभावकारी चेकजाँच, नियमित गस्ती, सूचनामा आधारित कारबाही तथा सुरक्षा निकायबीचको समन्वयलाई थप मजबुत बनाउनु डीएसपी महर्जनको प्रमुख प्राथमिकता बन्ने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *