बारा,१८ भदौ । जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा मासिक मिटिङ तथा ब्रिफिङ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको अध्यक्षतामा बिहीबार मिति २०८३ भदौ १८ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यक्रम सञ्चालन भएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण प्रहरी इकाई प्रमुख, कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा विभिन्न शाखामा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।
मासिक बैठकमा जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी सेवा प्रवाह, अभिलेख व्यवस्थापन, कार्यालयको भौतिक अवस्था तथा प्रहरी कर्मचारीहरूको कार्यसम्पादन लगायतका विषयमा विस्तृत समीक्षा तथा आवश्यक छलफल गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बैठकमा प्रहरी कार्यलाई थप प्रभावकारी, व्यावसायिक र परिणाममुखी बनाउने विषयमा समेत विशेष जोड दिइएको थियो। नागरिकले सहज, छिटो र प्रभावकारी रूपमा प्रहरी सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न नागरिकमैत्री, पारदर्शी, उत्तरदायी तथा सेवामुखी कार्यशैली अवलम्बन गर्न प्रहरी कर्मचारीहरूलाई एसपी कुँवरले निर्देशन दिनुभएको थियो।
त्यस्तै, प्रहरी संगठनको मर्यादा र अनुशासन कायम राख्दै जिम्मेवारीप्रति प्रतिबद्ध भएर कार्यसम्पादन गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन र सेवाग्राहीप्रति थप संवेदनशील बन्न समेत उहाँले आवश्यक निर्देशन दिनुभएको थियो।
बैठकमार्फत जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै प्रहरी सेवालाई अझ विश्वसनीय, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
