काठमाडौं, १२ पुस ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम ९२ लाख रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानपछि काठमाडौंको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ निवासी रवि धमला (३४ वर्ष), रसुवा उत्तरगया गाउँपालिका–२ निवासी जीत बहादुर तामाङ (३९ वर्ष), र संखुवासभा पाँचखपन नगरपालिका–७ निवासी सन्तोष विक (३० वर्ष) रहेका छन्।
रवि धमलालाई तारकेश्वर नगरपालिका–४ लोलाङबाट, जीत बहादुर तामाङलाई सोही स्थानबाट, र सन्तोष विकलाई गोकर्णेश्वर नगरपालिका–५ बाहुनधाराबाट पक्राउ गरिएको हो।
उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जनाएका छन् ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
