कलैयामा सुमोको ठक्करबाट १९ वर्षीय युवकको मृत्यु, १३ घण्टापछि पहिचान खुल्यो

समाचार

बारा ,२६ भदौ । बाराको कलैयामा सुमो गाडीको ठक्करबाट मृत्यु भएका पैदलयात्रीको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–५, प्रसौनीटोकाका १९ वर्षीय अलोक कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार २०८३ भदौ २५ गते राति करिब ९ः१० बजे कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो।

सुमोको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई तत्काल घटनास्थलमा खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा राति १०ः३५ बजे युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि मृतकको तत्काल पहिचान खुल्न नसकेपछि प्रहरीले उनको हुलिया सार्वजनिक गर्दै आफन्त तथा चिनजानका व्यक्तिलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो।

प्रहरीले मृतकको हुलिया उचाइ करिब ५ फिट ६ इन्च, पातलो शरीर, दायाँ हातमा बाला, कालो भेष्ट र निलो पाइन्ट लगाएको, उमेर करिब २२/२३ वर्ष रहेको भन्दै पहिचानका लागि सूचना सार्वजनिक गरेको थियो।

यसैबीच, भदौ २६ गते बिहान करिब ९ बजे मृतकका बुबा प्रसौनी गाउँपालिका–५ निवासी सुबाश कुमार साह एलएस न्यूरो अस्पताल पुगेर मृतक आफ्ना छोरा अलोक कुमार साह भएको सनाखत गरेका हुन्।

दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *