वीरगञ्ज, भदौ २६ । तराई–मधेशमा बढ्दो तापक्रम, घट्दो भूमिगत जलसतह र खानेपानीका मुहान सुक्दै गएको समस्यालाई राष्ट्रिय बहसमा उठाउन वीरगञ्ज महानगरपालिकाको टोली मुस्ताङको जोमसोम जाने भएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजनामा भदौ ३० र ३१ गते जोमसोम कभर्ड हलमा हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ मा सहभागी हुन महानगरको टोली भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने भएको हो।
महानगरपालिकाले सम्मेलनमा तराई–मधेशको जलवायु संकटलाई प्रभावकारी रूपमा उठाउन ‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश’ भन्ने नारालाई अघि सारेको छ। विशेषगरी वीरगञ्जसहित मधेशमा बढ्दो गर्मी, भूमिगत पानीको सतहमा आएको गिरावट र खानेपानीको संकटलाई सम्मेलनमार्फत राष्ट्रिय मञ्चमा पुर्याउने महानगरको तयारी छ।
सम्मेलनमा सहभागी हुन जाने प्रशासन प्रमुख कीर्ति सुवेदी र वातावरण शाखा प्रमुख राकेश साहलाई वीरगञ्ज महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ। कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख आलमले जलवायु परिवर्तनको असर हिमाली तथा पहाडी क्षेत्रमा मात्र सीमित नभई तराई–मधेशमा झन् गम्भीर बन्दै गएको बताउनुभयो।
उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेर तराई–मधेशमा अझ भयावह रूपमा देखिन थालेको छ। वीरगञ्जसहित सिङ्गो मधेशमा भूमिगत जलसतह घट्दा खानेपानीको चरम संकट पैदा भएको छ। जोमसोममा हुने यो भेलामार्फत हामी मधेशले भोगिरहेको वातावरणीय संकट र तराईका वास्तविक समस्यालाई दृढताका साथ प्रस्तुत गर्नेछौँ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बोहराले हिमालदेखि तराईसम्मका स्थानीय तहबीच जलवायु अनुकूलनका साझा रणनीति निर्माण आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार वीरगञ्जको टोलीले सम्मेलनमा मधेशका तर्फबाट जलवायु परिवर्तनसँग सम्बन्धित ठोस सुझाव तथा प्रतिवेदन प्रस्तुत गर्नेछ।
नेपाल सरकार, प्रदेश सरकार तथा विभिन्न भगिनी स्थानीय तहहरूको सहयोगमा आयोजना हुन लागेको सम्मेलनमा देशभरका स्थानीय तहका प्रतिनिधि तथा जलवायु विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनले स्थानीय तहमा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, वातावरण संरक्षण तथा जोखिम व्यवस्थापनका लागि साझा रणनीति निर्माणमा जोड दिने अपेक्षा गरिएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनको समापनमा कालीगण्डकीको तटबाट ‘घरपझोङ घोषणापत्र–२०८३’ जारी गर्ने तयारी गरिएको छ। घोषणापत्रमार्फत हिमालदेखि तराईसम्म देखिएका जलवायुजन्य समस्या र स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायलाई साझा दस्तावेजका रूपमा अघि बढाइने जनाइएको छ।
वीरगञ्ज महानगरपालिकाले भने ‘तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश’ नारामार्फत जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी महसुस गरिरहेका तराई–मधेशका बस्ती, किसान र आम नागरिकका समस्या राष्ट्रिय जलवायु बहसको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ।
