काठमाडौ ,६ असोज ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह १९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्युयोर्क प्रस्थान गर्नुहुनेछ। न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले उहाँको स्वागत गर्नेछन्।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतले उहाँलाई भ्रमणसम्बन्धी विषयमा क्रमशः ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालका स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उहाँ सहभागी हुनुहुनेछ।
असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
महासभामा सहभागिता तथा विभिन्न कूटनीतिक भेटवार्ता सम्पन्न गरी प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट कतारको दोहा प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नेछन्।
प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका रहेको छ।
