बारा ,८ असोज । बालिका अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोल स्थायी घर भई तत्कालीन समयमा बारा, कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने २३ वर्षीय अफरोज अंसारी रहेका छन्।
प्रहरीका अनुसार अंसारीले २०७८ माघ १० गते साँझ करिब ५ बजे १२ वर्षीया बालिकालाई ललाइफकाई तथा डरत्रास देखाई अपहरण गरेका थिए। उनले बालिकालाई कलैया उपमहानगरपालिका–४ स्थित मैदा मिलको पछाडिको झाडीमा लगेर जबरजस्ती करणी गरेको र त्यसपछि बसमा चढाई काठमाडौंको वनस्थली पुर्याएर कोठामा राखी पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।
घटनापछि प्रहरीले २०७८ माघ २० गते बालिकाको उद्धार गरेको थियो। त्यसपछि अंसारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको थियो।
मुद्दाको सुनुवाइका क्रममा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज, पर्साले २०८२ पुस २४ गते अंसारीलाई १८ वर्ष कैद, ६ लाख रुपैयाँ जरिवाना तथा २४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो।
फैसलापछि फरार रहेका अंसारीलाई बारा प्रहरीले खोजी गर्ने क्रममा २०८३ असोज ७ गते कलैया उपमहानगरपालिका–६ स्थित बजार क्षेत्रमा घुमिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउपछि उनलाई सम्मानित बारा जिल्ला अदालत, कलैयामा पेश गरिएकोमा अदालतको च.नं. ४८५०, मिति २०८३/०६/०७ गतेको पत्रादेशअनुसार कारागार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले २०८३ असोज ८ गते सार्वजनिक गरेको विवरणअनुसार अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका अंसारीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको हो।
