काठमाडौं, भदौ २७ ।
नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
कार्कीले २०७३ असारदेखि २०७४ जेठसम्म प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको नेतृत्व गरेकी थिइन्। आफ्नो कार्यकालमा उनले न्याय क्षेत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको अडान लिएर चर्चित निर्णयहरु दिएकी थिइन्। विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको ऐतिहासिक फैसलाले उनको नाम न्याय इतिहासमा अटल बनाएको छ।
उनलाई पदच्युत गर्न राजनीतिक वृत्तबाट महाभियोगको प्रयास भए पनि सर्वोच्च अदालतकै आदेशले त्यसलाई निष्प्रभावी बनाएको थियो।
कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा स्नातक गरेकी छिन्। उनले २०३५ सालबाट वकालत सुरु गरेकी थिइन् भने २०६७ सालमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन्।
अब अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा उनले मुलुकलाई नयाँ राजनीतिक व्यवस्थातर्फ डोरयाउने अपेक्षा गरिएको छ।
