वीरगञ्ज, २८ भदौ ।
जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी २२ वर्षीय असहाब आलम ठकुराईलाई शनिबार वीरगञ्जमा भव्य श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिएको छ।
आलमको पार्थिव शरीरसहित निकालिएको श्रद्धाञ्जली यात्रामा हजारौँको सहभागिता रह्यो। मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरियो। श्रद्धाञ्जली कार्यक्रममा सहभागी स्थानीयवासीदेखि विभिन्न राजनीतिक, सामाजिक र नागरिक समाजका व्यक्तिहरूले आलमप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
दुई महिनाअघि मात्र वैवाहिक जीवनमा बाँधिएका आलमको काठमाडौँमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको परिवारजनले जनाएका छन्। उनी छाती र पेटमा दुई गोली लागेर गम्भीर घाइते भएका थिए। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।
अचानक भएको निधनले परिवार, आफन्त र सम्पूर्ण मुर्ली बस्ती शोकमग्न बनेको छ। शुक्रबार साँझ स्थानीयवासीले आलमको स्मरण गर्दै वीरगञ्जको प्रतिमाचोकमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
