बारा, ११ असोज । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिएको सशस्त्र प्रहरी बल बाराले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई कडाइ पारिएको अवस्थामा मटिअर्वा सीमा क्षेत्रबाट करिब १३ लाख ३८ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरिएको हो।
सशस्त्र प्रहरीका अनुसार २०८३ साल असोज १० गते साँझ ५ बजे जिल्ला बारा, कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा इलाकामा भारतबाट मोटरसाइकल प्रयोग गरी अवैध रूपमा सामान नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वा, बाराबाट खटिएको टोलीले शंकास्पद रूपमा मोटरसाइकलमा सामान ल्याउँदै गरेका एक व्यक्तिलाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा मोबाइलका पार्ट्स फेला पारेको जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बरामद मोबाइल पार्ट्स तथा प्रयोग गरिएको मोटरसाइकलको गरी कुल मूल्य करिब १३ लाख ३८ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा नियमित गस्ती, निगरानी तथा चेकजाँचका क्रममा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
बारा जिल्लाको भारतसँग जोडिएको सीमा क्षेत्रमा पछिल्लो समय सशस्त्र प्रहरीले तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी बढाएको छ। खुला सीमाको फाइदा उठाउँदै हुने भन्सार छली, अवैध ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा नियमित गस्ती र चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले नेतृत्व सम्हालेपछि सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि मातहतका गुल्म तथा बोर्डर आउट पोस्ट (बीओपी)लाई सक्रिय बनाइएको छ। मटिअर्वाबाट मोबाइल पार्ट्स बरामद हुनु पनि सीमा क्षेत्रमा बढाइएको निगरानी तथा चेकजाँचको परिणामका रूपमा हेरिएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने तस्करी तथा भन्सार छली नियन्त्रणका लागि आगामी दिनमा समेत निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
