गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने व्यक्ति पक्राउ, बाँकेमा ६ मुद्दा दर्ता

समाचार

काठमाडौं ,१२ असोज । गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा तथा सार्वजनिक मर्यादाविपरीत प्रसारण भएको अडियो संवादको वास्तविकता बुझ्न प्रहरीले मल्लसँग सोधपुछ गर्न खोजेको थियो।

सोधपुछका लागि खटिएको प्रहरी टोलीमाथि गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मल्लविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसैबीच, मल्लको CRS (केन्द्रीय आपराधिक अभिलेख) विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीविरुद्ध विभिन्न कसुरका ६ वटा मुद्दा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मल्लविरुद्ध बाँकेमा दर्ता रहेका मुद्दाहरूमा २०८३ साउन २६ गते दूरसञ्चार ऐनअन्तर्गतको मुद्दा, २०८१ चैत ६ गते अभद्र व्यवहार, २०७९ जेठ १३ गते बैंकिङ कसुर, २०७८ माघ ५ गते अभद्र व्यवहार, २०७८ साउन ५ गते अभद्र व्यवहार तथा २०७७ फागुन २६ गते ठगीसम्बन्धी कसुर रहेका छन्।

दूरसञ्चार ऐनअन्तर्गतको मुद्दामा उनी फरार रहेको समेत प्रहरी अभिलेखबाट खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे जानकारी दिएका हुन्।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोको वास्तविकता तथा पक्राउ परेका व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *