पर्सामा एसपी भट्टराईको तस्करी नियन्त्रण अभियान तीव्र, १० लाख बढीका भन्सार छलीका सामान बरामद

समाचार

वीरगञ्ज,१९ असोज  । पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले तस्करी तथा भन्सार छली नियन्त्रणमा कडाइ गरेसँगै पर्सा प्रहरीले अवैध रूपमा भित्र्याइएका विभिन्न सामानमाथिको निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। प्रहरीले वीरगञ्जका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा एकैदिन करिब १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका भन्सार छली तथा चोरी पैठारीका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोक र वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका मोबाइल, कस्मेटिक सामान तथा स्याउ बरामद गरेको हो।

प्रहरीका अनुसार २०८३ असोज १८ गते बिहान करिब ९ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट भारतबाट भन्सार छली तथा चोरी पैठारी गरी नेपाल भित्र्याइएका एप्पल कम्पनीका आईफोन–१७ का ३ थान र आईफोन–१५ को १ थान गरी जम्मा ४ थान मोबाइल बरामद गरिएको हो।

बरामद मोबाइलको अन्दाजी मूल्य ५ लाख ५२ हजार २ सय १० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन बेलुका करिब ६ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरका कस्मेटिक सामान तथा स्याउ बरामद गरेको हो।

दुवै स्थानबाट बरामद गरिएका मोबाइल, कस्मेटिक सामान, स्याउलगायतका मालवस्तुको कुल अन्दाजी मूल्य १० लाख ६ हजार ७ सय ६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि वीरगञ्जका प्रमुख नाका, चोक तथा सम्भावित तस्करी मार्गमा निगरानी बढाउँदै आएको छ। विशेषगरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने मोबाइल, कपडा, कस्मेटिक, खाद्यान्न तथा अन्य विभिन्न उपभोग्य वस्तुको ओसारपसार नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाँच तथा निगरानीलाई प्राथमिकता दिएको जनाएको छ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी तथा भन्सार कारबाहीका लागि २०८३ असोज १९ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता/सूचना अधिकारी चक्र बहादुर मल्लले बरामद सामान भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन्।

पर्सा प्रहरी प्रमुख एसपी पवन कुमार भट्टराईले जिल्लामा तस्करी, भन्सार छली, अवैध ओसारपसार तथा सीमा अपराधविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै निगरानी र कारबाहीलाई प्रभावकारी बनाउँदै आएका छन्। पछिल्लो समय प्रहरीले सीमा क्षेत्रदेखि वीरगञ्ज बजारसम्म अवैध रूपमा भित्र्याइएका सामानको ओसारपसार नियन्त्रणमा सक्रियता बढाएपछि तस्करीमा संलग्न समूह तथा अवैध कारोबारीमाथि दबाब बढेको देखिएको छ।

प्रहरीले कानुनविपरीत भन्सार छली गरी सामान भित्र्याउने, ओसारपसार गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाउने जनाएको छ। वीरगञ्ज–रक्सौल सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले आगामी दिनमा समेत चेकजाँच र निगरानीलाई निरन्तरता दिने बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *