बारा ट्राफिकको सफल अनुसन्धान ,हराएको केटीएम ड्युक मोटरसाइकल फेला पारेर धनीलाई बुझाइयो

समाचार

बारा,२७ जेठ । हराएको मोटरसाइकललाई आवश्यक अनुसन्धानपछि वास्तविक धनीसम्म पुर्‍याउन बारा ट्राफिक प्रहरीले सफलता हासिल गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ वैशाख १० गते अस्थायी ट्राफिक प्रहरी पोस्ट प्रसौनीले नियन्त्रणमा लिई थप कारबाहीका लागि कार्यालयमा बुझाएको बा.प्र.०२-०४५ प २५४८ नम्बरको केटीएम ड्युक मोटरसाइकलको विस्तृत अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा उक्त मोटरसाइकलको चेचिस नम्बर VBRJOC4C2CC10058 र इन्जिन नम्बर 290609732 रहेको पत्ता लागेको थियो। थप अनुसन्धानबाट मोटरसाइकलको वास्तविक नम्बर प्लेट ना ३७ प ९११० रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

मोटरसाइकलका वास्तविक धनी बारा जिल्लाको गढीमाई गाउँपालिका–४ निवासी २९ वर्षीय विश्वराज चौधरी रहेको पुष्टि भएको छ। चौधरीले उक्त मोटरसाइकल २०८२ माघ ४ गते बारा जिल्लाको कोल्हबी नगरपालिका–रामपुर क्षेत्रबाट हराएको भन्दै प्रहरीलाई मौखिक जानकारी गराएका थिए।

प्रहरीले आवश्यक प्रमाण तथा विवरणको आधारमा स्वामित्व पुष्टि गरेपछि मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको जनाएको छ।

यस अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक के.सी.ले सवारी साधन चोरी तथा हराउने घटनाबाट बच्न सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न, जीपीएस प्रणाली प्रयोग गर्न र सुनसान तथा मानिसहरूको आवतजावत नहुने स्थानमा सवारी साधन पार्किङ नगर्न आग्रह गरेका छन्।

सवारी साधन हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीको भनाइ छ।

प्रहरीको सक्रिय अनुसन्धान र समन्वयका कारण हराएको मोटरसाइकल फेला परेर वास्तविक धनीसम्म पुगेपछि स्थानीयवासीले प्रहरीको कार्यप्रति प्रशंसा व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *