वीरगञ्ज, २७ जेठ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै करिब ७ लाख ४० हजार रुपैयाँ बराबरका ७ हजार ४ सय गोटा ब्रोइलर चल्ला बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री को नेतृत्वमा सञ्चालन भइरहेको तस्करी तथा सीमा अपराध नियन्त्रण अभियानअन्तर्गत प्राप्त विशेष सूचनाका आधारमा खटिएको मोबाइल टोलीले जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रबाट उक्त चल्ला नियन्त्रणमा लिएको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार प्रक्रिया पूरा नगरी तथा पशु स्वास्थ्यसम्बन्धी कानुनी प्रावधान उल्लंघन गर्दै नेपाल भित्र्याइँदै गरिएको ७४ कार्टुनमा प्याक गरिएका ७ हजार ४ सय गोटा ब्रोइलर चल्ला फेला परेको थियो। सो क्रममा चल्लासहित बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी निवासी अन्दाजी ४२ वर्षीय उमेश मुखिया लाई समेत नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका चल्ला र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। भन्सार तथा सम्बन्धित निकायको समन्वयमा घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
यसैबीच, पशुजन्य वस्तुको अवैध आयातले पशुपन्छीमा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै पशु स्वास्थ्य तथा क्वारेन्टाइनसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार बरामद गरिएका चल्लाहरू नष्ट गरिएको छ। नेपाल प्रहरी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहवरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय परिसरमा ती चल्ला नष्ट गरिएको जनाइएको छ।
सीमा क्षेत्रमा पछिल्लो समय अवैध पशुपन्छी, कृषि उपज तथा विभिन्न भन्सार छलीका सामानको ओसारपसार बढ्न थालेपछि सशस्त्र प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई थप कडाइका साथ सञ्चालन गरिरहेको जनाएको छ। सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले सीमा सुरक्षासँगै अवैध व्यापार नियन्त्रणलाई प्राथमिकतामा राख्दै तस्करीमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला ले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि स्थानीयवासीसँग समेत सहकार्य बढाइएको जानकारी दिँदै यस्ता गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
पर्साको भारतसँग जोडिएको खुला सीमामा पछिल्ला दिनहरूमा सशस्त्र प्रहरीद्वारा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। सोही अभियानअन्तर्गत प्रतिबन्धित ब्रोइलर चल्ला नियन्त्रणमा लिनु सीमा सुरक्षा र पशु स्वास्थ्य संरक्षणका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
