चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) उम्मेदवार तथा सभापति रवि लामिछाने भारीसहित विजयी भएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवार कांग्रेसका नेता जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २५१ मत पाए । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
गत आइतबार चितवन–२, बारा–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो । चितवन–२ मा रवि लामिछाने विजयी हुँदा उनकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका छन् ।
चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् ।
मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् ।
नेतृत्व सक्षम नभएमा हटाउने भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए ।
यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ ।