काठमाडौं, ४ माघ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ समारोह सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियमको कडाइका साथ पालना, चालकको जिम्मेवार व्यवहार र पैदलयात्रीको सचेतना अपरिहार्य रहेको बताउनुभयो। उहाँले दुर्घटना न्यूनीकरण केवल प्रहरीको जिम्मेवारी मात्र नभई आम नागरिक, चालक, यातायात व्यवसायी र सम्बन्धित निकायको साझा दायित्व भएकोमा जोड दिनुभयो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन अभिवृद्धि, मापसे सेवन गरेर सवारी नचलाउने अभियान, तीव्र गतिमा सवारी नचलाउने चेतना कार्यक्रम, जेब्राक्रसिङ प्रयोग, हेल्मेट र सिटबेल्ट प्रयोग अनिवार्य गर्ने विषयमा केन्द्रित रही सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, यातायात व्यवसायी, चालक प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै प्रभावकारी अनुगमन र कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
