काठमाडौं, ५ माघ ।
नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको नेतृत्व एमालेको हातमा पुगेको दाबी गर्दै त्यसलाई पार्टीका लागि ऐतिहासिक उपलब्धि भनेका छन्। उनले सामाजिक सञ्जालमार्फत दुवै महानगरमा एमालेसँग आबद्ध जनप्रतिनिधिले नेतृत्व सम्हालेको भन्दै बधाई तथा स्वागत व्यक्त गरेका हुन्।
काठमाडौं महानगरपालिकाका स्वतन्त्र रूपमा निर्वाचित मेयर बालेन शाहले हालै पदबाट राजीनामा दिएपछि स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उपमेयर सुनिता डंगोल स्वचालित रूपमा कार्यवाहक मेयर बनेकी छन्। कानुनी व्यवस्थाअनुसार मेयर पद रिक्त हुँदा उपमेयरले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ। डंगोल नेकपा (एमाले)बाट निर्वाचित उपमेयर हुन्।
यस्तै, मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जका निर्वाचित मेयर राजेशमान सिंहले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोजित कार्यक्रममा सिंहसहित पूर्व खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्जका केही स्थानीय पदाधिकारीलाई पनि एमालेमा स्वागत गरिएको थियो।

नेता बस्नेतले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “हिजो मात्र एमालेले बिना चुनाव काठमाडौं र वीरगञ्ज महानगरको मेयर प्राप्त गरेको छ। बालेनको राजीनामापछि काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल र वीरगञ्जका मेयर राजेशमान सिंह एमालेमा प्रवेश गरेका छन्। दुबैलाई हार्दिक बधाई।”
उनको यो दाबीलाई एमाले वृत्तमा सकारात्मक रूपमा हेरिएको छ भने विपक्षी दलहरूले यसबारे मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले यसलाई राजनीतिक अवसरवादको परिणाम भनेका छन् भने एमालेले यसलाई जनसमर्थनको विस्तारका रूपमा व्याख्या गरेको छ।
यसैबीच, काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत संघीय प्रतिनिधि सभा सदस्य निर्वाचनको तीब्र तयारीमा जुटेका छन् ।
