बिरगंज, ५ माघ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको सरुवा भएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गरेको नियमित प्रशासनिक निर्णयअनुसार एसपी भट्टलाई प्रधान कार्यालयको सचिवालय, काठमाडौंमा सरुवा गरिएको हो।
उनको स्थानमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीलाई पर्साको नयाँ गणपतिका रूपमा खटाइएको छ। क्षेत्रीले निकट समयमा नै जिम्मेवारी सम्हाल्ने बताइएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर, बिरगंज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको पनि सरुवा भएको छ। स्रोतका अनुसार उनलाई सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार २० गणमा सरुवा गरिएको हो।
डिएसपी भण्डारीको स्थानमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीलाई बिरगंज भन्सार सीमा सुरक्षा गुल्मको नयाँ प्रमुखका रूपमा पठाइएको छ।
पर्सा जिल्लामा कार्यरत रहँदा एसपी पुरन चन्द्र भट्ट र डिएसपी पुरुषोत्तम भण्डारीको जोडीले सीमा सुरक्षा व्यवस्थापन, तस्करी नियन्त्रण तथा सीमापार अपराध रोकथाममा उल्लेखनीय भूमिका खेलेको स्थानीय तथा सरोकारवालाहरूले बताएका छन्।
विशेषगरी अवैध तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, मानव ओसारपसार रोकथाम, लागूऔषध नियन्त्रण तथा भन्सार चुहावट रोक्न उनीहरूले समन्वयात्मक र सक्रिय रणनीति अपनाएको भन्दै प्रशंसा गरिएको छ।
स्थानीय बासिन्दा तथा व्यवसायीहरूले समेत सीमा क्षेत्रमा सुरक्षा अवस्थाको सुधार भएको उल्लेख गर्दै उनीहरूको कार्यकाललाई उपलब्धिमूलक रूपमा लिएका छन्।
अब आउने नयाँ नेतृत्वसँग पनि स्थानीय समुदायले शान्ति सुरक्षा सुदृढीकरण, सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, तस्करी नियन्त्रणलाई अझ कडा पार्ने तथा कानून कार्यान्वयनलाई निष्पक्ष रूपमा अघि बढाउने अपेक्षा गरेका छन्।
सशस्त्र प्रहरी बल पर्साले आगामी दिनमा पनि अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा सीमा सुरक्षा, राजस्व संरक्षण र अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
