सशस्त्र प्रहरीको क्विक इम्प्याक्ट परियोजनाअन्तर्गत बारामा शौचालय र प्रतिक्षालय उद्घाटन

समाचार

बारा, ६ माघ ।
सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस २०८२ को अवसरमा क्विक इम्प्याक्ट परियोजना (QIP) अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले जिल्लाका दुई सीमावर्ती क्षेत्रमा सार्वजनिक संरचना निर्माण गरी उद्घाटन गरेको छ।

मिति २०८२ माघ ५ गते दिउँसो १२:२० बजे जिल्ला बारा सिम्रौनगढ नगरपालिका–९ बसवरिया स्थित झरोखर सीमा इलाकामा दुई कोठे सार्वजनिक शौचालय निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख नजमु शेहर, नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी., वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्षलगायत स्थानीय जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसै दिन अपराह्न ४:१५ बजे सुवर्ण गाउँपालिका–३ सन्तगञ्ज सीमा इलाकामा यात्रु प्रतिक्षालय निर्माण गरी उद्घाटन गरिएको छ। गाउँपालिका प्रमुख राजेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी., वडा नं. ३ का अध्यक्ष रामक्षत्री प्रसाद यादव तथा सीमा सुरक्षा बेस (BOP) कवहीगोठका सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्कीको उपस्थिति रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रमा आधारभूत पूर्वाधार निर्माणमार्फत स्थानीय समुदायको जीवनस्तर सुधार गर्न यस्ता परियोजना सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *