काठमाडौं ,१९ असोज । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालबाट दाहालमाथि कारबाही गर्न सिफारिस प्राप्त भएपछि मन्त्रालयले उक्त विषयमा आवश्यक छानबिन अघि बढाएको थियो। सोही क्रममा मन्त्रालयले सोमबारको निर्णयबाट दाहाललाई निलम्बन गर्दै उनीमाथि लागेको आरोपबारे जाँचबुझ गर्न अधिकृतसमेत तोकेको जनाएको छ।
मन्त्रालयका अनुसार तोकिएका जाँचबुझ अधिकृतले तीन दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ।
दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील तथा गोप्य सूचना चुहावट गरेको र पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको हो। यद्यपि, उनीमाथि लागेका आरोपको अन्तिम टुंगो जाँचबुझबाट प्राप्त प्रतिवेदन तथा त्यसका आधारमा अघि बढ्ने कानुनी प्रक्रियाबाट मात्र लाग्ने मन्त्रालयले स्पष्ट गरेको छ।
गृह मन्त्रालयले शान्ति–सुरक्षा तथा राज्यका संवेदनशील सूचनाको संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। मन्त्रालय मातहतका कर्मचारी तथा सुरक्षा निकायका जिम्मेवार पदाधिकारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति–सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले कानुनविपरीत हुने जुनसुकै गतिविधि तथा घटनामा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ। साथै, विधिको शासन, कानुनको पालना तथा सार्वजनिक शान्ति–सुरक्षाको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
दाहालमाथिको आरोपको वास्तविकता भने जाँचबुझ समितिको प्रतिवेदनपछि मात्रै स्पष्ट हुने बताइएको छ।
