चाडपर्व लक्षित पर्सा प्रहरीको कडा सुरक्षा रणनीति, बिन्दवासिनी चोकको फुटपाथ व्यवस्थापन सुरु

समाचार

वीरगञ्ज ,२७ असोज । नेपालीहरूको महान् चाड बडादसैँ, तिहारलगायतका पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले शान्ति सुरक्षा कायम गर्नुका साथै सार्वजनिक स्थानको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

चाडपर्वका समयमा हुन सक्ने भीडभाड, अव्यवस्थित आवागमन तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने र स्थानीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने अभियानलाई अघि बढाएको हो।

यसैक्रममा वीरगञ्ज महानगरपालिका–१९ स्थित बिन्दवासिनी चोकको फुटपाथ व्यवस्थित गर्ने कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार फुटपाथ व्यवस्थापनका विषयमा स्थानीय व्यक्तिहरूसँग छलफल गरी आवश्यक समन्वयका आधारमा व्यवस्थापनको काम अघि बढाइएको हो।

चाडपर्वको समयमा बजार तथा चोक क्षेत्रमा सर्वसाधारणको आवागमन बढ्ने भएकाले पैदलयात्रीलाई सहज आवतजावतको व्यवस्था मिलाउने, सडक तथा फुटपाथमा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्ने र सार्वजनिक स्थानलाई व्यवस्थित बनाउने उद्देश्यले उक्त पहल गरिएको जनाइएको छ।

स्थानीय बासिन्दासँग समन्वय र सहकार्य गर्दै फुटपाथ व्यवस्थापनको काम अघि बढाइएकाले यसले आवागमन सहज बनाउन तथा चोक क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पर्सा प्रहरीले चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्न सुरक्षा सतर्कता बढाउनुका साथै सार्वजनिक स्थानको व्यवस्थापन र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *