विराटनगर,३० असोज । मोरङको विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने स्कुटरको पछाडि सवार अर्का युवक गम्भीर घाइते भएका छन्।
प्राप्त विवरणअनुसार, २०८३ असोज २९ गते दिउँसो करिब ३:१५ बजे अनटेस्ट स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ क ३७८२ नम्बरको स्कुल बसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ निवासी १८ वर्षीय मो. रिहानरेन मियाको उपचारका क्रममा मृत्यु भएको छ। स्कुटरको पछाडि सवार राजविराज नगरपालिका–९ निवासी १८ वर्षीय मो. नजाम मिया गम्भीर घाइते भएका छन्। उनको विराट नर्सिङ होममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न स्कुटर र स्कुल बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि फरार रहेका बस चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
