गुल्मीमा भीषण स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते

समाचार

गुल्मी ,१० कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।  दुर्घटनामा गाडी सडकबाट करिब २५० मिटर तल खसेको थियो।

प्राप्त विवरणअनुसार, स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा  दुर्घटनामा परेको हो।

दुर्घटनामा परी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै, स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे तथा सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा घाइते हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी रहेका छन्।

घाइते छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मिसन अस्पताल, पाल्पा रेफर गरिएको छ। गोमता पाण्डेको मिसन अस्पताल, पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा पठाइएको छ। घाइते गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइते तथा मृतकलाई उद्धार गरी उपचार र आवश्यक प्रक्रियाका लागि विभिन्न अस्पतालमा पुर्‍याएको थियो।

दुर्घटना के कारणले भएको हो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *