गुवाहाटी (भारत), १० कात्तिक। भारतको असम राज्यस्थित गुवाहाटीमा एउटा होटलभित्र गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति भएको उक्त घटनामा एउटै परिवारका चार जनासहित पाँच जनाको ज्यान गएको हो। मृतकहरूमा होटल सञ्चालककी पत्नी र छोरा पनि रहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार गुवाहाटीको बोरा सर्भिस एरियामा रहेको ‘बिलास इन’ होटलमा उक्त हिंस्रक घटना भएको हो।
प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार होटल भाडामा लिने सम्झौतासँग सम्बन्धित सम्पत्ति विवादका कारण गोलीबारी भएको हो। आरोपी घनकान्त गोगोईले गत वर्ष उक्त होटल लिज (भाडा) मा लिएका थिए। पछिल्लो समय लिज सम्झौताको विषयलाई लिएर होटल सञ्चालकको परिवारसँग उनको विवाद चल्दै आएको थियो।
सोमबार राति पनि सोही विषयमा विवाद भएपछि आरोपीले आफ्नो इजाजतपत्र प्राप्त (लाइसेन्स प्राप्त) पेस्तोलबाट छ जनामाथि गोली प्रहार गरेको प्रहरीको भनाइ छ। गोली लागेर घटनास्थलमै पाँच जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ।
घटनालगत्तै प्रहरीले आरोपी गोगोईलाई नियन्त्रणमा लिएको छ। साथै, गोली प्रहारमा प्रयोग गरिएको ३२ बोरको इजाजतपत्र प्राप्त पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
