पर्सा, कार्तिक २० । पर्सा प्रहरीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको ३९९ केजी फर्सीको बीउ बरामद गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले २०८३ कार्तिक २० गते बिहान करिब १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका–१६ स्थित क्षेत्रबाट उक्त फर्सीको बीउ बरामद गरेको हो।
प्रहरी टोलीले भन्सार छली तस्करी गरी ल्याउँदै गरेको अवस्थामा बेवारिसे रूपमा फेला पारेको ३९९ केजी फर्सीको बीउ नियन्त्रणमा लिएको जनाएको छ। बरामद बीउको कुल मूल्य रु. ७९ हजार ८ सय रुपैयाँ मूल्याङ्कन गरिएको छ।
बरामद गरिएको उक्त बीउ थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सोही दिन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले भन्सार छली तथा अवैध तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको जानकारी दिएका छन्।
