अघि बढाउँदै लागुऔषध नियन्त्रण अभियान: पर्सामा ब्राउन सुगरसहित दुई पक्राउ, २७.५ केजी गाँजा बरामद

समाचार

वीरगञ्ज, असार २०। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर सफलता हासिल गरिरहेको छ।

पछिल्लो २४ घण्टाभित्र प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिनुका साथै २७ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ९१६० नम्बरको पल्सर मोटरसाइकल रोकेको थियो।

मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१ निवासी २५ वर्षीय अरविन्द ओझा र वीरगञ्ज महानगरपालिका छपकैया निवासी २८ वर्षीय मुकेश कुमार कुशवाहाको खानतलासी गर्दा ०.३३० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, विशेष सूचनाको आधारमा सोही दिन दिउँसो करिब ४:२० बजे पर्साको बिन्दवासिनी गाउँपालिका–४ पोखरीको डिल क्षेत्रमा प्रसौनीभष्ठा बीओपी तथा प्रहरी चौकी अमरपट्टिबाट खटिएको संयुक्त गस्ती टोलीले बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बोराभित्र प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको २७ किलो ५०० ग्राम गाँजाजस्तो देखिने पदार्थ प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद गाँजाको स्रोत र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसअघि असार १८ गते राति करिब ११:१० बजे पनि वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकिङका क्रममा प्रहरीले अर्को सफलता हासिल गरेको थियो। भारतबाट वीरगञ्जतर्फ आउँदै गरेका जगरनाथपुर गाउँपालिका–५ चिलझपटी निवासी २२ वर्षीय राजन साह तेलीलाई शंकाको आधारमा रोकी खानतलासी गर्दा उनले लगाएको हाफ पाइन्टको पछाडिको खल्तीमा रहेको पर्सभित्र लुकाइराखिएको ०.१६० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।

प्रहरीले उनलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
पर्सा प्रहरीले पछिल्लो समय सीमा क्षेत्र तथा मुख्य नाकाहरूमा चेकजाँचलाई थप कडा बनाउँदै विशेष सूचना संकलनका आधारमा निरन्तर अपरेशन सञ्चालन गरिरहेको छ।

एसपी सुदीप राज पाठकको नेतृत्वमा भइरहेको अभियानअन्तर्गत लागुऔषधको ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट गरेको छ। साथै, लागूऔषध ओसारपसार वा कारोबार सम्बन्धी कुनै पनि सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अभियानलाई सफल बनाउन सर्वसाधारणसँग समेत आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *