वीरगञ्ज, २२ असार। पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको कार र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री इनर्वा जाने चोकमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेको BR 01 CU 3544 नम्बरको सेतो रंगको स्पोर्ट्स कारलाई शंकाका आधारमा रोकी जाँच गरेको थियो।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी कार खानतलासी गर्दा गाडीभित्र लुकाएर राखिएको १० वटा पोकामा १०२ केजी ६३८ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
घटनामा भारतको बिहार राज्य, बेतिया नवलपुर निवासी ३२ वर्षीय गुडु बर्मालाई पक्राउ गरिएको छ। बरामद गाँजा, कार तथा चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
हाल प्रहरीले गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको संलग्नता तथा नेटवर्कबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
