वीरगञ्ज, २२ असार ।जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीमार्फत हुने साइबर ठगीका घटनामा वृद्धि भएको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार ठगी गर्ने गिरोहहरूले WhatsApp, Facebook, TikTok लगायत सामाजिक सञ्जालमार्फत “गिफ्ट, पुरस्कार वा लोटरी जितेको” भन्दै प्रलोभनमा पार्ने गरेका छन्। त्यसपछि भन्सार शुल्क (Tax) तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिका बैंक खाता, QR कोड, eSewa र Khalti वालेटमार्फत रकम मागेर ठगी गर्ने गरिएको छ।
यस्तै, आफू बैंकको कर्मचारी भएको परिचय दिँदै KYC अपडेट गर्नुपर्ने बहानामा WhatsApp मार्फत सम्पर्क गरी OTP माग्ने, स्क्रिन सेयर गर्न लगाउने र बैंक खाताबाट रकम चोरी गर्ने गतिविधि पनि बढिरहेको प्रहरीले जनाएको छ।
अनलाइन सपिङका नाममा सस्तो मूल्यमा महँगा सामान होम डेलिभरी गरिदिने भन्दै विज्ञापन गर्ने, बुकिङ शुल्क तिर्न लगाउने र रकम फिर्ता गरिदिने बहानामा स्क्रिन सेयर गराएर बैंक खाताको रकम चोरी गर्ने गिरोह पनि सक्रिय रहेको प्रहरीको भनाइ छ।
त्यसैगरी, ह्याकरहरूले Facebook तथा TikTok आईडी ह्याक गरी साथीभाइ वा परिवारका सदस्यलाई आपतकालीन अवस्था परेको भन्दै तत्काल रकम पठाइदिन अनुरोध गरेर ठगी गर्ने गरेका छन्।
प्रहरीले केही समूहले आर्थिक प्रलोभन देखाएर व्यक्तिका बैंक खाता खुलाउन लगाई त्यसको स्वामित्व आफूले लिएर ती खातामा ठगीबाट प्राप्त रकम कारोबार गर्ने गरेको तथ्य पनि फेला परेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले यस्ता कुनै पनि गतिविधिमा विश्वास नगर्न, OTP, पासवर्ड वा स्क्रिन सेयर कसैलाई पनि नगर्न तथा शंकास्पद घटना भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकले साइबर अपराधबाट आफू पनि जोगिन र अरूलाई पनि सचेत गराउन सबै नागरिकको सहयोग आवश्यक रहेको बताए ।
