साइबर ठगी नियन्त्रणमा सरकारको नयाँ पहल : २४ घण्टे एकीकृत प्रतिकार्य केन्द्र स्थापना, ठगी भएको ६० मिनेटभित्रै कारबाही गर्ने तयारी

समाचार

काठमाडौं ,२१ कार्तिक । डिजिटल माध्यमबाट हुने बैंकिङ ठगी, अनलाइन अपराध तथा विभिन्न प्रलोभनमा पारेर सर्वसाधारणको जीवनभरको कमाइ लुट्ने घटनालाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले २४ घण्टे एकीकृत साइबर अपराध प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार नेपाल प्रहरीले नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र तथा दूरसञ्चार क्षेत्रका टोलीलाई एउटै संयन्त्रमा आबद्ध गरी Integrated Anti-Cyber Scam Center सुरु गरेको हो।

नयाँ व्यवस्थाअनुसार साइबर ठगीका घटनामा पीडितले लामो प्रशासनिक प्रक्रिया र कागजी झन्झट व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै तत्काल प्रतिकार्य गर्ने लक्ष्य राखिएको छ। केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने र ठगीसम्बन्धी सूचना प्राप्त हुनासाथ सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक कदम चाल्ने व्यवस्था गरिएको बताइएको छ।

विशेषगरी अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, सामाजिक सञ्जाल, नक्कली लिंक, फर्जी फोन कल तथा विभिन्न डिजिटल माध्यम प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्ने गिरोह नियन्त्रण गर्न यो संयन्त्र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

गृहमन्त्री गुरुङका अनुसार नयाँ प्रणालीअन्तर्गत ‘रियल टाइम लेजर ट्र्याकिङ’ प्रविधिको प्रयोग गरी ठगीबाट स्थानान्तरण भएको रकमको कारोबार तत्काल पहिचान तथा अनुगमन गरिनेछ। आवश्यकताअनुसार शंकास्पद बैंक खाता तथा प्रयोग भएका सिमकार्ड तत्काल ब्लक गर्ने प्रक्रिया अघि बढाइनेछ।

यस व्यवस्थाको मुख्य उद्देश्य ठगी भएको जानकारी प्राप्त भएको ६० मिनेटभित्रै आवश्यक एक्सन लिई पीडितको रकम थप अन्य खातामा स्थानान्तरण हुनबाट रोक्नु रहेको छ।

यसअघि साइबर ठगीमा परेका पीडितले प्रहरी, बैंक तथा अन्य सम्बन्धित निकायमा छुट्टाछुट्टै सम्पर्क गर्नुपर्ने र समन्वयमा समय लाग्ने समस्या भोग्दै आएका थिए। अब भने विभिन्न सरोकारवाला निकाय एउटै संयन्त्रमा जोडिएपछि सूचना आदानप्रदान, रकम ट्र्याकिङ तथा शंकास्पद खाता रोक्का गर्ने कार्य छिटो र प्रभावकारी हुने विश्वास गरिएको छ।

ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गर्न आग्रह

गृहमन्त्री गुरुङले कुनै पनि प्रकारको साइबर ठगी वा डिजिटल आर्थिक अपराधको समस्या परेमा सर्वसाधारणलाई ढिलाइ नगरी तत्काल १२४७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।

उनले नागरिकको पसिनाको कमाइ सुरक्षित राख्नु र डिजिटल नेपाललाई सुरक्षित बनाउनु सरकारको प्राथमिकता रहेको सन्देश दिएका छन्।

पछिल्लो समय नक्कली बैंकिङ फोन, ओटीपी माग्ने, सामाजिक सञ्जालमार्फत लगानीको प्रलोभन देखाउने, अनलाइन सपिङ तथा चिठ्ठा परेको बहानामा रकम असुल्ने लगायतका साइबर ठगीका घटना बढिरहेका बेला सरकारले सुरु गरेको यो पहललाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

साइबर अपराध नियन्त्रणका लागि प्रविधि र सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउँदै नागरिकको आर्थिक सुरक्षा सुनिश्चित गर्न एकीकृत प्रतिकार्य केन्द्र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

साइबर ठगीबाट बच्न सावधानी अपनाउनुहोस् : अपरिचित व्यक्तिलाई ओटीपी, बैंकिङ पासवर्ड, एटीएम विवरण वा गोप्य कोड नदिनुहोस्। शंकास्पद लिंक नखोल्नुहोस् र ठगी भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक तथा प्रहरीलाई खबर गर्नुहोस्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *