प्रेस सेन्टर नेपाल पर्साद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको संरक्षणको माग

समाचार

रसीद आलम

बिरगंज,२८ बैशाख । गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरू माथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरोधमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

प्रेस सेन्टर नेपालको केन्द्रीय निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयमा समितिका सदस्यहरूले पत्रकारहरू माथि भइरहेका दमन, डर, धाकधम्की तथा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइँदै आएका अंकुशहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।

ज्ञापनपत्रमार्फत सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधान अनुसार संरक्षण गर्न तात्कालिक र प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको नेतृत्वमा उपाध्यक्ष समिना रञ्जितकार, सचिव अजित भुजेल, सहसचिव विदुर गौतम, कोषाध्यक्ष संजित गुप्ता तथा सदस्यहरू सन्तोष कुशवाहा, रितेश झा, सन्जोग गिरी, अशोक श्रीवास्तव, भरत सर्राफ, रुपेश बर्मा लगायतको सहभागिता रहेको थियो।

उनीहरूले प्रमुख जिल्ला अधिकारीसँग भेटवार्ता गर्दै पत्रकारिता क्षेत्रलाई दबाबमुक्त, सुरक्षित र स्वतन्त्र राख्न सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए।

कार्यक्रमका दौरान जिल्ला सचिव अजित भुजेलले ज्ञापनपत्र पढेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उहाकै कार्यकक्षमा बुझाएका थिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *