वीरगञ्ज ,२३ कार्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा गाउँमा लक्ष्मीपूजा तथा दीपावलीको राति आगलागी हुँदा दुई जनाको गोठमा क्षति पुगेको छ। आगलागीमा परी गोठमा बाँधिएका दुईवटा गोरु, एउटा भैँसी र एउटा राँगो जलेर घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार लक्ष्मीपूजाको राति करिब अन्दाजी ११:५५ मा केदार प्रसाद यादव र महेन्द्र प्रसाद यादवको गोठमा अचानक आगलागी भएको थियो। आगलागीका कारण गोठमा बाँधिएका पशुचौपायाहरू आगोको चपेटामा परी घाइते भएका हुन्।
आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली, स्थानीयवासी तथा दमकलको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरिएको थियो। संयुक्त प्रयासपछि आगलागी पूर्ण रूपमा राती करिब १२:५५ मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
घटनामा कुनै पनि मानवीय क्षति नभएको भए पनि पशुचौपायाहरू घाइते हुनुका साथै गोठमा भौतिक क्षति पुगेको छ।
आगलागी के-कति कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। साथै, आगलागीबाट भएको कुल भौतिक तथा आर्थिक क्षतिको विवरणसमेत संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय राजन कुमार शाहका अनुसार मानवीय क्षति हुनबाट जोगिए पनि दीपावलीको खुसीयालीकै बीच भएको यस घटनाले स्थानीय दुई परिवारलाई ठूलो चिन्तामा पारेको छ।
