वीरगञ्ज ,२३ कार्तिक । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा निस्किएको छर्रा लागेर एक ८ वर्षीय बालकको दुःखद मृत्यु भएको छ। दीपावली तथा तिहारको समयमा पटका र विस्फोटकजन्य पदार्थको प्रयोगले बालबालिकाको सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने घटनाको यो एउटा दर्दनाक उदाहरण बनेको छ।
प्रहरीका अनुसार आज बिहान करिब ८:०० बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा गम्भीर घाइते भएका थिए। पटका विस्फोट हुँदा निस्किएको छर्रा बालकको छातीको बीच भागमा लागेपछि उनी गम्भीर अवस्थामा पुगेका थिए।
घटनालगत्तै घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, चिकित्सकले उपचारको प्रयास गर्नुअघि नै बिहान ८:४५ बजे उनलाई मृत घोषणा गरेका थिए।
सानै उमेरमा पटका विस्फोटबाट निस्किएको छर्राले लागेर बालकको ज्यान गएपछि परिवारमा ठूलो बज्रपात परेको छ। सामान्य मनोरञ्जनका रूपमा प्रयोग गरिने पटका क्षणभरमै ज्यान लिने घातक माध्यम बन्न सक्ने यस घटनाले पुनः स्पष्ट पारेको छ।
विशेषगरी चाडपर्वका बेला बालबालिकाले पटका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ प्रयोग गर्दा अभिभावकले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ। यस्ता पदार्थको असुरक्षित प्रयोगले बालबालिकाको ज्यानै जोखिममा पार्न सक्ने भएकाले अभिभावक तथा समुदायले समयमै सचेतना अपनाउनु आवश्यक छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
सुरक्षाको सानो लापरबाहीले अमूल्य जीवन गुम्न सक्छ। पटका र विस्फोटक पदार्थको प्रयोगबाट टाढा रहौँ, बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ।
