काठमाडौं,२७ कार्तिक । छठ पर्वको अवसरमा नेपाल सरकारले थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ साल कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने सम्बन्धमा सूचना जारी गरेको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार यसअघि नै २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा निर्धारण गरिएको थियो। तर, छठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने प्रचलन रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको हो।
यस निर्णयसँगै अब कात्तिक २९ गते आइतबार र कात्तिक ३० गते सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
छठ पर्वको मुख्य विधिअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ अर्पण गरी रातभर पूजा–आराधना तथा जाग्राम बस्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ। यही परम्परा र पर्वको महत्वलाई मध्यनजर गर्दै सरकारले छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत उक्त निर्णय सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।
सरकारको यस निर्णयले छठ पर्व मनाउने व्रतालु, श्रद्धालु तथा सर्वसाधारणलाई धार्मिक अनुष्ठान सम्पन्न गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
