वीरगञ्ज, ३० कार्तिक । पर्सा प्रहरीले छठ पर्वका अवसरमा सुरक्षा व्यवस्थापनमा खटिएको टोलीले हराएको चाँदीको पाउजु फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
मिति २०८३ साल कात्तिक ३० गते बिहान करिब ७:३० बजे पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठ पूजा स्थलमा सुरक्षार्थ खटिएको कमाण्ड पोस्टको टोलीले हराएको चाँदीको पाउजु फेला पारेको हो।
फेला परेको करिब पाँच तोला तौल भएको एक थान चाँदीको पाउजु आवश्यक पहिचान तथा प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई सुरक्षित रूपमा जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ।
छठ पर्वका अवसरमा घडिअर्वा लगायतका विभिन्न छठघाटमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने भएकाले सुरक्षाकर्मीहरूलाई सुरक्षा, भीड व्यवस्थापन तथा भक्तजनका हराएका सामानको खोजीमा समेत परिचालन गरिएको थियो।
प्रहरीको सक्रियता र जिम्मेवारीपूर्ण कार्यशैलीका कारण हराएको बहुमूल्य गरगहना फिर्ता पाउँदा सम्बन्धित धनीलाई राहत मिलेको छ। पर्वको समयमा शान्ति सुरक्षा कायम गर्नुका साथै सर्वसाधारणको धनमालको सुरक्षा र हराएका सामग्री फिर्ता गराउने कार्यमा समेत पर्सा प्रहरी सक्रिय देखिएको छ।
पर्सा प्रहरीले पर्वमा सहभागी हुने श्रद्धालु भक्तजनलाई आफ्ना गरगहना तथा बहुमूल्य सामानको विशेष ख्याल राख्न र कुनै सामान हराएमा नजिकै खटिएका सुरक्षाकर्मीलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।
