सीमापार मानव बेचबिखन नियन्त्रणका लागि वीरगञ्जमा नेपाल–भारत सरोकारवालाबीच समन्वय बैठक सम्पन्न

समाचार

वीरगञ्ज, ४ मंसिर। सीमावर्ती क्षेत्रमा बढ्दै गएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले पर्साको वीरगञ्जमा नेपाल–भारतका सरोकारवालाबीच सीमापार समन्वय बैठक (Cross-Border Stakeholders Coordination Meeting) सम्पन्न भएको छ।

आफन्त नेपाल (AAFANTA NEPAL – KIN NEPAL) को आयोजनामा शुक्रबार, २० नोभेम्बर २०२६ मा वीरगञ्जस्थित होटल वीरगञ्ज गेटवे, घण्टाघरमा उक्त बैठक सम्पन्न भएको हो। बैठकको सञ्चालन आफन्त नेपाल पर्साकी प्रतिनिधि मुनु रानाले गरेकी थिइन्।

कार्यक्रममा स्थानीय सुरक्षाकर्मी, सञ्चारकर्मी, मानव बेचबिखनविरुद्ध कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा भारतका विभिन्न सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले सीमापार मानव बेचबिखन तथा ओसारपसारका बदलिँदा स्वरूप, यसको नियन्त्रणमा देखिएका चुनौती र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका थिए।

आफन्त नेपालले लामो समयदेखि सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जोखिममा रहेका महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनःस्थापनाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। सीमामा खटिएका सुरक्षाकर्मी, भारतीय सुरक्षाकर्मी तथा सीमापारका विभिन्न संघसंस्थासँग समन्वय र सहकार्य गरी जोखिममा परेका महिला तथा बालिकाको उद्धार गरेर अभिभावकको जिम्मा लगाउने, आवश्यक परामर्श प्रदान गर्ने र विभिन्न सीपमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको आफन्त नेपाल पर्साकी मुनु रानाले जानकारी दिइन्।

उनका अनुसार पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटनामा नयाँ प्रवृत्ति र चुनौतीहरू देखिन थालेका छन्। विशेषगरी सामाजिक सञ्जालमार्फत रोजगारी तथा आकर्षक तलबको प्रलोभन देखाएर बालिका, किशोरी तथा महिलालाई जोखिममा पार्ने क्रम बढ्दै गएको छ। नेपालका विभिन्न दुर्गम जिल्लाबाट प्रलोभनमा पारिएका महिला तथा किशोरीलाई सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लैजाने गरेको पाइएको उनले बताइन्।

त्यस्तै, नेपाली बालिकाहरू भारतको रक्सौल क्षेत्रमा यौन व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको पाइएको र भारतीय किशोरीहरू घरपरिवारलाई जानकारी नदिई वा झुटो बहाना बनाएर नेपाल आउने क्रमले उनीहरूको सुरक्षा तथा संरक्षणमा चुनौती थपिएको रानाले उल्लेख गरिन्।

उनले भारतीय बालिकाहरूलाई वीरगञ्जका विभिन्न होटल तथा स्पामा जबर्जस्ती यौन शोषणमा लगाउनेजस्ता गम्भीर प्रकृतिका घटनासमेत चुनौतीका रूपमा देखिएको बताउँदै यस्ता गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी निगरानी, सूचना आदानप्रदान र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन्।

बैठकमा सीमापार मानव बेचबिखन तथा ओसारपसारका नयाँ चुनौतीहरू, जोखिममा परेका महिला तथा बालिकाको उद्धार प्रक्रिया, उद्धारपछि स्वदेश फिर्तीमा देखिने कानुनी तथा व्यावहारिक समस्या र त्यसको समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो।

त्यसैगरी, नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी हुन सक्ने मानव बेचबिखन, ओसारपसार तथा अन्य सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी संस्थाबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा सहभागी नेपाल तथा भारतका सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरूले मानव बेचबिखनजस्तो गम्भीर सामाजिक अपराध नियन्त्रण गर्न एकपक्षीय प्रयास मात्र पर्याप्त नहुने भन्दै दुवै देशका सरोकारवाला निकायबीच निरन्तर समन्वय, सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

सीमापार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि नेपाल–भारतबीचको सहकार्यलाई थप मजबुत बनाउँदै जोखिममा रहेका महिला तथा बालिकाको सुरक्षा, उद्धार, संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न यस्ता समन्वयात्मक बैठकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *