भीमफेदीमा चपुरबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, तीनजनाको मृत्यु, सात घाइते

समाचार

मकवानपुर , ३ मंसिर। मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने चालकसहित सात जना घाइते भएका छन्।

रौतहटको चपुरबाट काठमाडौंका लागि छुटेको ना १ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा ल्याइएको छ।

दुर्घटनामा घाइते भएका चालक कालुमान लोप्चनले आफूले अचानक अन्धकार देखेपछि सुमो सडकबाट तल खसेको बताएका छन्।

उपचारका लागि हेटौंडा ल्याइएका उनले दुर्घटनाबारे सुनाउँदै भने, ‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ। त्यसपछि गाडी सडकबाट तल खस्यो।’

चालकको भनाइले दुर्घटनाअघि अचानक स्वास्थ्यमा समस्या आएको हुन सक्ने आशंका देखिए पनि दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *